
तिलोत्तमा सिटी,माघ १३ गते २०७८। बुटवलको बाइपास सडक ‘कालिका पथ’ आयोजनाले एक वर्षको अवधिमा २० प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । २४ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएको यो आयोजनाले आधा अवधि सकिँदा एक चौथाई मात्रै काम सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेश सरकारको आयोजनामा निर्माणको जिम्मा पाएको विरुवा, कालिगण्डकी, सिद्धार्थ जेभीले भ्याटसहित १५ करोड ९१ लाख ९९ हजारमा निर्माणको जिम्मा पाएको हो । आयोजना समयमै सम्पन्न हुनेमा स्थानीयले आशंका गर्न थालेका छन् । पछिल्लो समय केही गती लिने मेसो गरेको यो आयोजना विश्वव्यापी कोरोना महामारी तथा ओमीक्रोनको त्राससँगै फेरी सुस्ताएको छ। बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्ग तथा पुर्व–पश्चिम राजमार्गपछि व्यस्त रहने यो सडक निर्माणमा भएको ढिलाइले यात्रु तथा स्थानीयले दैनिक सास्ती खेप्नु परेको छ। हल्का वर्षामै हिलाम्य तथा घाम लाग्नसाथ धुलाम्य हुँदा दैनिक आवागमन गर्ने तथा सडकसँग घर–जग्गा जोडिएर रहेका बासिन्दाले सास्ती खेप्नु परेको हो ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत रहेको सडक पूर्वाधार विकास कार्यालयले यो आयोजना हेरिरहेको छ । आयोजनाका साइड ईन्चार्ज श्याम श्रेष्ठका अनुसार कालिका पथको सडक निर्माण अन्तरगत हालसम्म होराइजन चोकदेखि होराइजन स्कूलसम्म बेसको काम पूरा गरी पिजका लागि तयार पारिएको छ । यसैगरी शिवपथमा पनि सय मिटर आरसीसी ढलान सम्पन्न भएको छ । आयोजना अन्तरगत १ हजार ७० मिटर सडकमा सब बेस तथा बेसको काम भएको छ भने तिनकुनेदेखि कालिका मन्दिरसम्म एक साइडमा मात्रै सव ग्रेडको काम सम्पन्न भएको छ ।
कमेन्ट गर्नुहोस्