
२०७८ माघ ९, तिलोत्तमा सिटी। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९ दशमलव १० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गएको वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २ दशमलव ८२ प्रतिशत विन्दुले घटाएको छ । गएको वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११ दशमलव ९२ प्रतिशत थियो ।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गर्नुभयो । ‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम अगाडि बढाइकाले चुहावट घटेको हो’, उहाँले भन्नुभयो,‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्छ, यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको छ ।’
सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाएको छ ।
कमेन्ट गर्नुहोस्