लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्लिनफिडको उत्साह, टेलिभिजन व्यवसायी निराश

IMG

२७ कात्तिक,२०७८ तिलोत्तमा सिटी । नेपालमा विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू भएको एक वर्ष बितेको छ । ८ कात्तिक २०७७ बाट विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) भएका थिए । व्यवसायीहरुको दाबीलाई मान्ने हो भने त्यसपछि बहुराष्ट्रिय कम्पनीहरुका विज्ञापन र त्यसमा हुने खर्च बढेको छ भने टेलिभिजनका दर्शक घटेका छन् ।‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ले विदेशी टेलिभिजन च्यानललाई क्लिन फिड अनिवार्य गरेको थियो । क्लिन फिडले विज्ञापन व्यवसायी सन्तुष्ट र नेपालमा टेलिभिजन सेवा वितरण गरिरहेका व्यवसायी असन्तुष्ट छन् ।


नेपाल विज्ञापन संघका अनुसार कोरोना महामारी चलिरहेपनि बहुराष्ट्रिय कम्पनीबाट आउने विज्ञापनको दर बढेको छ । त्यस्तै, स्वरांकन (डब) गरिएका विदेशी विज्ञापनको साटो नेपाली कलाकार राखेर स्थानीय किसिमले विज्ञापन बनाउने क्रम पनि बढेको छ । संघका पूर्वअध्यक्ष रवीन्द्रकुमार रिजाल यसलाई क्लिन फिडकै देन मान्छन् । उनका अनुसार कोकाकोला, पेप्सी, डाबर, युनिलिभर लगायत बहुराष्ट्रिय कम्पनीले नेपाली बजारमा गर्ने खर्च बढेको छ ।


विगतमा नेपालमा आयात नै नभएका वस्तुको पनि टेलिभिजनमा विज्ञापन देखेर भएका माग आयात बढाउन भूमिका खेलेको नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । उनका अनुसार अहिले धेरै बुहराष्ट्रिय कम्पनीले नेपालमा विज्ञापन गर्ने तयारी गरिरहेका छन् ।‘हुन त देशभित्रका उद्योगी–व्यवसायीले महामारीमा खर्च कटौती गर्न शुरुमै विज्ञापनलाई रोजे, वार्षिक १२ अर्ब रुपैयाँको विज्ञापन बजार महामारीपछि ७ अर्बमा झरेको छ,’ रिजाल भन्छन्, ‘तर, ठूला बहुराष्ट्रिय कम्पनीहरुले विज्ञापन बजेट बढाउन बाध्य हुँदा क्लिन फिडको महत्व पुष्टि भएको छ ।’


अझै पनि कतिपय च्यानलमा भारतमा बनेका विज्ञापनको ‘डब’ संस्करण बजिरहेको उनको भनाइ छ । यो समस्या नहटेसम्म क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा नआउने उनले बताए ।‘अब नेपालमा उत्पादन बेच्ने कम्पनीले निश्चित प्रतिशत विज्ञापन बजारको लागि छुट्याउने नीति आवश्यक देखिन्छ,’ पूर्वअध्यक्ष रिजाल भन्छन्, ‘त्यसो भयो भने विज्ञापनको बजार थप बढ्छ, क्लिन फिडबाट देशले पाउने लाभ पनि वृद्धि हुन्छ ।’क्लिन फिड लागू भएपछि धेरै विदेशी च्यानल बन्द भएर नेपाललाई सांस्कृतिक रुपमा पनि लाभ भएको विज्ञापन व्यवसायीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्