
तिलोत्तमा सिटी,१२ असोज २०७८। बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ ।खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ ।योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने पक्का भएको छ । बाढीग्रस्त आयोजनालाई फेरि मर्मत गरेर सञ्चालनयोग्य बनाउन एडीबीले लगानी नगर्ने बताइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलले बताए ।
एडीबीको ऋण सहयोगमा बनेको आयोजना पूरा नहुँदै बाढीले क्षतिग्रस्त बनाएको छ ।‘अब सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुनर्स्थापित गर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘नियमित प्रक्रियाबाट ठेक्का लगाउँदा धेरै ढिलाइ हुने भएकाले अब विशेष परिस्थिति लागू गर्ने निर्णय गरेर काम अघि बढाउने तयारीमा छौं।’‘पानी डाइभर्ट गरेर सुरुङमा हाल्न ३०/३२ करोड र आयोजनाको मुहानस्थलमा थुप्रिएको ढुङ्गा, गिट्टी, बालुवालाई हटाउन करिब ८० देखि ९० करोड लाग्ने अनुमान छ’ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलले भने ।मेलम्ची आयोजनाको पानी काठमाडौं ल्याउन दातृ निकायलाई पर्खिंदा ठेक्का प्रक्रिया लम्बिनेछ । त्यसैले सरकारले सोझै ठेक्का लगाएर आफ्नै स्रोतमा आयोजनाको पुनर्स्थापना गर्न लागेको हो ।
सार्वजनिक खरिद ऐनको दफा ६६ ले विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानी नोक्सानी हुने अवस्था आइपरेमा सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्ने व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर खानेपानी मन्त्रालयले छोटो प्रक्रियाबाट खरिद प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।खोलामा बाँध बनाएर पानी सुरुङमा हाल्ने गरी सरकारले अल्पकालीन कार्ययोजना बनाएको छ । यो योजना कार्यान्वयनका लागि पनि आयोजनाको मुहानस्थलसम्म जाने पहुँचमार्ग बनाउनुपर्छ भने मेलम्ची नदीमा आएको बाढीले आयोजना पुरेको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन अर्को ठेक्का लगाउनुपर्ने छ ।
कमेन्ट गर्नुहोस्