लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर बजारमा फर्किएला उत्साह ?

IMG

तिलोत्तमा सिटी,३ साउन २०७८,आइतवार। पछिल्लो एक महीनामा सेयर बजारमा परिसूचक नेप्से १५२ अंकले घट्यो । जेठ ३१ गते हालसम्मकै उच्च अंक ३ हजार २५ अंक छोएको बजार असार ३१ गतेसम्म आइपुग्दा विभिन्न उतार चढाबका बीच दुई हजार ८८३ अंकमा सीमित भयो ।आर्थिक वर्षको अन्त्य, मौदि्रक नीतिको पूर्व सन्ध्या र सरकार परिवर्तनको मुख्य घटनाका बीच सेयर बजारले उल्लेखनीय गति लिएन । यही बेला बजारमा बैंकहरुमा तरलताको अभाव हुने भयो, ब्याजदर दोहोरो अंकमा जाने भयो र सेयर बजारमैत्री मौद्रिक नीति नआउने हल्ला चल्यो।सेयर लगानीकर्ता छोटेलाल रौनियार नियोजित तीन हल्ला कारण सेयर बजारमा १५० अंकको गिरावट आएको बताउँछन् ।


‘निश्चित मान्छेहरुले बजार घटाउन हल्ला चलाए, तर आजको बजारले त्यसको जवाफ दिएको छ,’ रौनियार भन्छन् ।नाफा बुक गरेर बजारबाट बाहिरिएका केही समूहले चलाएको हल्ला चिर्न एक महीना लागेको भन्दै उनले अब बजारको गति नरोकिने दावी गरे । नकारात्मक हल्लाहरु पछिल्लो दिनहरु सकारात्मक भएको भन्दै उनले दुई अंकको बैंक व्याजदर, बजार विरोधी मौदि्रक नीति र तरलाता अब समस्या नभएको रौनियार बताउँछन् ।बजारको स्थिरता  र अन्यौल अब सकिएको सेयर लगानीकर्ता एवम् नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलको दाबी छ । आइतबारको बजार पूर्वानुमान अनुसार नै भएको र केही अघि नाफा बुक गरेर बाहिरिएका संस्थागत लगानीकर्ता बैंकमा लगानीका लागि पुनः बजार प्रवेश गरेको उनले बताए ।‘बजार पर्ख र हेरको अवस्थामा थियो, अब सकारात्मक संकेत मिलेको छ, बजार नयाँ गतिमा अघि बढ्यो,’सभापति पौडेलले दाबी गरे ।


९७ अंकको संकेत

एक महिनाको उतारचढाब पछि साउन ३ गते सेयर बजारमा ९७.२१ अंकको हरियाली छायो । ११ अर्ब ६३ करोड बढीको कारोबार भएको बजारमा कारोबारमा आएका सबै उपसमूहमा हरियाली छायो ।कारोबार रकम असार ८ पछिको सबैभन्दा धेरै हुन पुग्यो । यसअघि असार ८ गते १० अर्ब हाराहारीको सेयर कारोबार भएको थियो ।ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने  १६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो । कारोबारमा आएका २२१ कम्पनी ११२ कम्पनीको सेयर मूल्य बढेको थियो ।आइतबार कारोबारमा आएकामध्ये मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँ, नबिल बैंकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रो पावरको ३७ करोड ६८ लाख र एनआईसी एसिया बैंकको ३५ करोड ३५ लाखको सेयर खरिद बिक्री भएको थियो ।यस्तै कामना सेवा विकास बैंकको ३४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको २८ करोड रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा किनबेच भयो । आइतबार विकास बैंक, वाणिज्य बैंक र फाइनान्स र जलविद्युतमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको थियो ।



हौसिने अवस्था छैन

अर्थमन्त्रीको अभिव्यक्ति बैंकहरुले सार्वजनिक गरेको बेसरेटका कारण बजारमा उच्च अकंको वृद्धि देखिए पनि हौसिने अवस्था भने नरहेको लगानीकर्ता प्रकाश तिवारी बताउँछन् ।आइतबारको बजार यसअघि कै निरन्तरता भएको भन्दै उनले लगानीकर्तालाई संयमित रहन आग्रह गरे। अहिलेको अवस्थामा मौदि्रक नीतिले मात्रै बजारको भविष्य निर्धारण गर्ने भएकाले त्यसअघिको अवस्था चनाखो हुनुपर्नेमा उनले बताए ।अहिले यसअघिको किर्तिमान तोडिने गरी बजार अघि बढेपनि लगानीकर्ता सचेत रहनुपर्छ । मौद्रीक नीति नै बजारको भविष्य तय गर्छ,’ तिवारीले भने ।


कमेन्ट गर्नुहोस्