
तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। निषेधाज्ञा खुकुलो भएसँगै ३ वटा कम्पनीको आइपीओ निष्कासन भएर बाँडफाँट समेत भइसकेको छ।तर दुई महिना अघि स्थानीय प्रभावितलाई सेयर जारी गर्दा गर्दै बीचमै स्थगित मध्य-भोटेकोशी जलविद्युत आयोजनाको आइपीओ निष्कासनको मिति भने अहिले सम्म टुङ्गो लाग्न सकेको छैन।धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएर पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई सेयर जारी गरिरहेको थियो। कोभिड महामारी बढेको भन्दै गत वैशाख २३ गतेदेखि निषेधाज्ञा लागेपछि आयोजनाको सेयर निष्कासन प्रक्रिया स्थगित भएको थियो।निषेधाज्ञामा स्थानीय प्रभावित हिडडुल गर्न नपाउने हु्ँदा सेयरमा आवेदन गर्न पनि नसक्ने भन्दै धितोपत्र बोर्डले प्रक्रिया रोक्न निर्देशन दिएको थियो।सिन्धुपाल्चोक प्रशासनले बैशाख २३ गतेदेखि लगाएको निषेधाज्ञा साउन १५ गते सम्म लम्ब्याउने निर्णय गरेसँगै आयोजनाको आइपीओ पनि साउन १५ गतेभन्दा पछि मात्रै आउने भएको छ।
निषेधाज्ञा अन्त्य भएपछि पनि पहिलो चरणमा स्थानीय प्रभावितलाई सेयर बिक्री वितरण नगरी आम सर्वसाधारणलाई सेयर जारी नहुने आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले बताए।सर्वसाधारणलाई सेयर बेच्न समस्या नभएपनि स्थानीयलाई जारी गरेर मात्रै आम सर्वसाधारणलाई सेयर जारी गर्नेुपर्ने धितोपत्र निष्कासनको नियम भएकाले स्थानीयलाई सेयर बिक्री गरेको १५ दिन पछि मात्रै सर्वसाधारणको लागि सेयर जारी गर्ने उनले बताए।
सिन्धुपाल्चोक प्रशासनले साउन १५ गतेदेखि निषेधाज्ञा अन्त्य गरेको खण्डमा साउनभित्र स्थानीय प्रभावित र भदौभित्र आम सर्वसाधारणलाई सेयर जारी हुने छ। तर यही बीचमा महामारी थप फैलियो भने चाहिँ भोटेकोशीको आइपीओमा निवेदन दिन अझै केही समय कुर्नुपर्ने हुन सक्छ।आयोजनाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति पाएको छ। स्थानीय प्रभावितलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख र आम सर्वसाधारणलाई ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर जारी गरिने छ।
कमेन्ट गर्नुहोस्