
जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ ।विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर अक्सिजन झारिएको हो । जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरेपछि सेनाको जाहाज मार्फत् अक्सिजन ल्याइएको प्रमुख जिल्ला अधिकार अस्मान तामाङले बताए ।‘यहाँको उत्पादनले नधानेपछि अक्सिजन अभावमा कसैको ज्यान जोखिममा नपरोस् भनेर हामीले केन्द्रसँग अनुरोध गर्यौ ।
सोहीअनुसार अक्सिजन आपूर्ति भइरहेको छ’, उनले भने । अक्सिजन ल्याएर आएको जहाजमा रुपन्देहीबाट ६० खाली सिलिण्डर रिफिलका लागि विरामटनगर पठाइएको छ ।उक्त सिलिन्डिर रिफिल गरेर सोही जहाजले आज नै रातिसम्म रुपन्देहीमा अक्सिजन आपूर्ति गर्ने तामाङले जनाए । ‘हामीले अक्सिजन ल्याएर आएको जहाजमा रिफिलका लागि खाली सिलिण्डर पठाएका छौं, उक्त सिलिण्डर रातिसम्म रिफिल गरेर जहाजमा ल्याउँछौं, त्यसपछि फेरि रिफिलका लागि पठाउँछौं’, उनले भने ।जहाजमार्फत् दिउँसो ल्याइएको अक्सिजन सबै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । साँझ आउने अक्सिजन आवश्यकताका आधारमा अन्य अस्पतालहरुमा समेत पठाइने प्रशासनले जनाएको छ ।
गएको मंगलबार र बुधबार अक्सिजन अभावमा रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन अभावमा संक्रमितको धमाधम मृत्यु हुन थालेपछि बुधबार साँझ सेनाको हेलिकोप्टर मार्फत् ४० सिलिण्डर अक्सिजन रुपन्देही झारिएको थियो । जिल्लामा तीनवटा ग्यास उद्योग भए पनि मागअनुसारको आपूर्ति हुन नसकेपछि शनिबार विराटनगरबाट अक्सिजन ल्याइएको हो ।
कमेन्ट गर्नुहोस्