लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ सयको बसभाडा ६ हजारसम्म:महामारीमा किन भाडामा वृद्धि ?

IMG

२४ बैशाख, २०७८ तिलोत्तमा सिटी। काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? रु ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा रु एक हजार वा भनौँ रु १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका लागि रु छ/छ हजार भाडाभन्दा तपाईँ पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ?केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतोमा काठमाडौँ –बुटवलको भाडा रु छ हजारसम्म असुलेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौँका विभिन्न क्षेत्रबाट बिहीबार पक्राउ गरेको छ । उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई घर पु¥याउन यसरी चर्काे रकम असुल गरी भाडामा ठगी गरेका हुन् ।


कोभिड­१९ को महामारीको मौका छोपेर उनीहरुले छोटो समयमै धेरै कमाउने योजना बनाए पनि अन्ततः ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ । “कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजारसम्म पैसा लिएर बुटवलका लागि टिकट काटेको पाइयो”, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने , “पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ, सबै आज पक्राउ परेका छन् ।” उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जति झार्न सकिन्छ त्यति रकम लिएको पाइएको छ ।


महाशाखाका अनुसार आज गरिएको अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई ग्वंगबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरिएको हो । कोभिड­१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।


काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा रु ५०० र बुटवलसम्म रु एक हजार दुई सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलिएको भट्टराईले बताए । उनका अनुसार पोखरा जाने यात्रुसँग रु तीन हजार ५०० र बुटवल जाने यात्रुबाट जनही रु छ हजारसम्म भाडा लिएको पाइएको छ ।काठमाडौँ उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ माइक्रोमार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुबाट बढी भाडा असुलेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भई काठमाडौँ बस्ने ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९–मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ।


 ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्ने यातायातसम्बन्धी समस्या अनुगमनका लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर अनुगमन गरिरहेको छ ।प्रहरीले कुनै गुनासो भएमा आफ्नो हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्