
तिलोत्तमा २०७७ चैत्र ८ । रुपन्देही उद्योग संघले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०७८ को तयारी सुरु गरेको छ । आगामी वर्षको पुष ७ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने औद्योगिक प्रर्दशनीको तयारी स्वरुप विभिन्न छलफल एवम् समिति गठन गरिएको संघले जनाएको छ ।संघले औद्योगिक प्रदर्शनीलाई व्यवस्थित गर्न राष्ट्रिय औद्योगिक प्रदर्शनी निर्देशीका बनाएर आवश्यक तयारी गर्दै आएको छ। सोही निर्देशिका अनुसार आगामी आयोजना गरिने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारीका लागि एक निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ ।
गठित समितिको संयोजकमा संघका अध्यक्ष बाबुराम बोहोरा रहेका छन् । सदस्यहरुमा निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काफ्ले, कोषाध्यक्ष हरि बहादुर खत्री, सचिव हिरामणी भट्टराई, सचिव (महिला) माया खनाल र सहकोषाध्यक्ष गिरीराज गैरे(राजु) र सचिवालय सदस्य बसन्त ढकाल रहेका छन् । समितिको सदस्य सचिवमा महासचिव जिवकान्त काफ्ले रहेका छन् ।निर्देशिका तथा कार्यान्वयन समितिले प्रदर्शनीका सम्पूर्ण काम, कर्तव्य र गतिविधिप्रति उत्तरदायित्व लिने, राष्ट्रिय औद्योगिक प्रदर्शनीको कार्यक्रम तथा बजेट निर्माण गर्ने र स्वीकृत गर्ने तथा प्रदर्शनी सचिवालयको सुपरीवेक्षण नियन्त्रण र रेखदेख गर्ने र आवश्यक निर्देशन दिने अधिकार प्राप्त रहेको छ ।
संघले सर्वप्रथम वि.सं.२०४५ मा बुटवल हाटबजार मैदानमा काठमाडौं बाहिर पहिलो पटक राष्ट्रिय औद्योगिक प्रर्दशनीको आयोजना गरेको हो । त्यसपछि वि.सं.२०५३ मा प्रदर्शनीको स्तर वृद्धि गरी राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना थालिएको र त्यो निरन्तर आयोजना हुँदै आएको छ । त्यसैको निरन्तरको रुपमा आगामी २०७८ सालमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७८ को आयोजना संघले गर्दैछ ।संघले आयोजना गर्ने प्रर्दशनीबाट स्वदेशमा उत्पादन भएका बस्तुहरुको प्रचारप्रसार र बजार प्रर्वद्धन गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
प्रदर्शनी स्थलमा सहभागी हुने औद्योगिक प्रतिष्ठान र उद्यमीहरूलाई अन्तक्र्रिया र अनुभव आदान प्रदानको अवसर प्रदान गरिने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए । यसैगरी प्रर्दशनीको आयोजनाबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा कृषिको विकासमा पनि टेवा पुग्ने गरेको छ । प्रर्दशनीमा कृषि क्षेत्रलाई विशेष महत्व दिएर छुट्टै प्याभिलियन निर्माण गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि प्याकेज कार्यक्रमहरु पनि आयोजना गरिने गरिएको छ । संघले प्रविधि प्रदर्शनलाई यस पटकको आयोजनामा पनि निरन्तरता दिने बताएको छ ।
कमेन्ट गर्नुहोस्