
२०७७ माघ २१, तिलोत्तमा। नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ । काठमान्डौमा सम्पन्न बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यकता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी समेत बनाउनुपर्ने बताउनुभयो । त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बिमाको क्षेत्रमा नेपालमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताउनुभयो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
कमेन्ट गर्नुहोस्